September 16, 2026, Wednesday
एजेन्सी। अब शरणार्थीको रुपमा अमेरिका छिर्न चाहने आप्रवासीको लागि यो बाटो बन्द हुने देखिएको छ । अमेरिकी मिडिया वाशिङटन पोस्टको रिपोर्टअनुसार ट्रम्प प्रशासन अमेरिकामा शरणार्थीको रुपमा प्रवेश गरी बस्न चाहने आप्रवासीहरुलाई ग्वाटेमाला पठाउने सम्झौतामा सहमतिको नजिकै पुगेको छ । रिपोर्टका अनुसार ट्रम्प प्रशासनले शरणार्थीहरुलाई ग्वाटेमाला पठाउन यसै सातादेखि सुरु गर्दैछ ।
यी दुई देशबीच गत जुलाइमा भएको एक सम्झौता यसै साता कार्यान्वयनमा आउने सम्झौताबारे जानकार तीन जनालाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ । यो सम्झौताले अमेरिकाको ‘मातृभूमि सुरक्षा विभाग’लाई शरणार्थीहरुलाई ग्वाटेमाला पठाउन अनुमति दिन्छ । यसको अर्थ विभिन्न देशबाट असुरक्षित यात्रा गर्दै अमेरिकी सीमासम्म पुग्नेहरु मात्रै मध्य अमेरिकी देश ग्वाटेमाला पुग्नका लागि जोखिपूर्ण यात्रा गरिरहेका हुनेछन् । अमेरिकामा यसरी छिर्नेहरु धेरैजसो होन्डुरास र एल साल्भाडोरका छन् । यी दुई देश ग्वाटेमालाकै छिमेकी मध्य अमेरिकी देश हुन् ।
ग्वाटेमालाको सर्वोच्च अदालतले सुरुमा त्यहाँको कंग्रेस (संसद)को अनुमति बिना शरण सम्बन्धी यो सन्धि अगाडि बढाउन नसकिने फैसला गरेको थियो तर अर्को एक निर्णयले राष्ट्रपति जिम्मी मोरालेसले सांसदहरुको सहमति बिना नै यो सम्झौता लागू गर्न सक्ने सम्भावना देखाएको छ । मोरालेसको कार्यकाल आगामी जनवरीमा समाप्त हुँदैछ ।
जनवरीमा हालका राष्ट्रपति मोरालेसको कार्यकाल समाप्त भएसँगै कार्यभार सम्हाल्नका लागि राष्ट्रपतिमा निर्वाचित भइसकेका अलेजान्द्रो गियामाट्टेइले यो सम्झौताको आलोचना गरेका छन् तर ट्रम्पका अधिकारीहरुले यसै महिना दोहोर्याइसकेका छन् कि यदि ग्वाटेमाला पछि हटेमा अमेरिकाले ग्वाटेमाला सरकारलाई दिने सहायता रोकिनेछ ।
अमेरिकाको मातृभूमि सुरक्षा विभागका कार्यकारी सचिवबाट बिहीबार हट्न लागेका केभिन म्याकलिनानले होन्डुरास र एल साल्भाडोरसँग पनि यस्तै किसिमको सम्झौता गरिसकेका छन् तर ती सम्झौता कार्यान्वयनमा भने आइसकेका छैनन् । म्याकलिनानले यी सम्झौताहरु विस्तारै कार्यान्वयन गरिने बताएका छन् । उनले कमजोर आप्रवासीहरुलाई सुरक्षा खोज्दै अमेरिकासम्मको यात्रा गर्न नहुने तर्क गरे ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am