September 17, 2026, Thursday
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ ।अजरबैजानमा भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो । भेटघाटमा उनीहरुबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच शनिबारै भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उनीहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
बैठकका समयमा नेताहरुले सार्कका सदस्य मुलुकबीच मतभेद कम गरी यसलाई पुनःसक्रिय बनाउनुपर्ने तथा क्षेत्रीय शान्तिलाई प्रवर्धन गर्नुपर्ने कुरामा छलफल गरेको मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति तथा १८ औँ नाम शिखर सम्मेलनका अध्यक्ष इल्हाम अलियभसँग शिखर बैठकका प्रतिनिधिमण्डलका नेताहरुका लागि आयोजित रात्रिभोजमा भेटवार्ता गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।प्रधानमन्त्री ओलीले राष्ट्रपति अलियभलाई शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकामा धन्यवाद तथा अभियानप्रति नेपालको पूर्ण प्रतिवद्धता रहेको बताएका थिए । उनले आउँदा तीन वर्षमा असंलग्न अभियानका सञ्चालनमा अजरबैजानलाई सकेसम्म सहयोग गर्ने बचन दिएको पनि मन्त्री ज्ञवालीले उल्लेख गरे ।
पाकिस्तानका राष्ट्रपति तथा बङ्गलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि उपस्थित थिए ।यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले जिबुटीका विदेशमन्त्री महमुद अली युसफसँग भेटवार्ता गरेका छन् । दुई मुलुकबीच आपसी अभिरुचिका विषयमा छलफल हुनाका साथै संयुक्त राष्ट्र सङ्घ र अन्तरराष्ट्रिय मञ्चमा आपसी मुद्दामा सहयोग गर्ने सहमति उनीहरुबीच भएको थियो ।
10th Mar 2020 , 11:48 am
8th Dec 2019 , 10:07 am
8th Dec 2019 , 10:06 am
8th Dec 2019 , 10:05 am